देशभर यातायात सेवा प्रभावित, कारण के हो?
देशभर यातायात सेवा प्रभावित, अनलाइन प्रणालीमा समस्या

काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा प्रभावित भएको छ। यातायात व्यवस्था विभागअन्तर्गत सञ्चालनमा रहेका सवारी चालक अनुमतिपत्र (ईडीएल) तथा सवारी दर्तासम्बन्धी प्रणाली (भीआरएस र ईभीआरएस) मा देखिएको प्राविधिक समस्याका कारण सेवाहरू प्रभावित भएका हुन्।
प्रणालीमा अवरोध आएपछि लाइसेन्स नवीकरण, ब्लूबुक नवीकरण, नयाँ सवारी दर्ता, लाइसेन्स आवेदन लगायतका विभिन्न सेवाहरू प्रभावित भएका छन्।
विभागका अनुसार सिस्टम अपग्रेड, डेटा माइग्रेसन तथा सेवाग्राहीको अत्यधिक चापका कारण हालको प्रणालीमा आंशिक समस्या देखिएको हो। यसले देशका अधिकांश यातायात कार्यालयहरूमा सेवा प्रवाहमा असर परेको जनाएको छ।
हाल ईडीएल, भीआरएस र ईभीआरएस प्रणालीलाई थप प्रभावकारी बनाउन सुधार तथा अद्यावधिकको काम भइरहेको विभागले जनाएको छ। सरकारले सवारी तथा यातायात व्यवस्थापनसँग सम्बन्धित नयाँ प्रणाली लागू गर्ने तयारी गरिरहेकाले सोही प्रक्रियाअन्तर्गत प्रणाली स्तरोन्नति र डेटा माइग्रेसनको काम जारी रहेको बताइएको छ।
विभागका अनुसार प्रदेश सरकारमार्फत नयाँ यातायात कार्यालयहरू विस्तार भइरहेका छन्। साथै आर्थिक वर्षको अन्त्यतिर सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढ्दा सीमित क्षमताको प्रणालीमा अतिरिक्त दबाब परेको छ।
सेवा अवरोधका समस्या समाधान गर्दै प्रणालीलाई स्थिर र प्रभावकारी बनाउने कामलाई प्राथमिकतामा राखिएको विभागले जनाएको छ। प्रभावित सेवाहरू यथाशीघ्र नियमित गर्ने प्रयास भइरहेको पनि विभागले स्पष्ट पारेको छ।