Home latest hot news car भरतपुरमा GAC AION इभीमा आगलागी, चालक अमर पराजुलीको कारभित्रै जलेर मृत्यु

भरतपुरमा GAC AION इभीमा आगलागी, चालक अमर पराजुलीको कारभित्रै जलेर मृत्यु

Krispa Pyakurel
104 Views
Sep 11
बसन्तचोकमा गुडिरहेको इभीमा आगलागी हुँदा चालकको मृत्यु, अनुसन्धान जारी।

चितवनको भरतपुरमा शुक्रबार बिहान एक दर्दनाक घटना भएको छ। गुडिरहेको कारमा अचानक आगलागी हुँदा कारभित्र रहेका एक पुरुषको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ६ बजे भरतपुर महानगरपालिका–९, बसन्तचोक क्षेत्रमा चलिरहेको इभी कारमा एक्कासि आगो लागेको थियो। आगलागी भएपछि चालक समयमै बाहिर निस्किन नसक्दा कारभित्रै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुने व्यक्ति भरतपुर महानगरपालिका–११ निवासी अमर पराजुली रहेको खुलेको छ। प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पराजुली टाँडीबाट भरतपुरस्थित आफ्नै घर फर्किरहेका बेला उनी सवार कारमा आगलागी भएको थियो।

दुर्घटनामा परेको सवारी चिनियाँ विद्युतीय सवारी ब्रान्ड GAC AION (जीएसी आयोन) को इभी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। नेपालमा GAC AION ब्रान्डका विद्युतीय सवारीहरूको आधिकारिक विक्रेता CG Motors रहेको छ, जुन चौधरी ग्रुप (CG Group) अन्तर्गत सञ्चालन हुँदै आएको छ।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी घटनास्थल पुगे पनि आगो तीव्र रूपमा फैलिएकाले चालकको उद्धार गर्न सम्भव नभएको बताइएको छ। आगलागीको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो घटनाले विद्युतीय सवारीको सुरक्षा, ब्याट्री प्रणाली तथा आकस्मिक अवस्थामा उद्धार व्यवस्थाबारे पनि प्रश्न उठाएको छ। यद्यपि आगलागीको कारण प्राविधिक समस्या, दुर्घटना वा अन्य कुनै कारण हो भन्ने विषय अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।

Tags :

Comment