Home म्याक्सस ई टेरन-९ कम्फर्ट नेपालमा, मूल्य ४० लाखसम्म घट्ने

म्याक्सस ई टेरन-९ कम्फर्ट नेपालमा, मूल्य ४० लाखसम्म घट्ने

Krispa Pyakurel
289 Views
Jul 23
४० लाख सस्तो मूल्यमा आएको ई टेरन-९ कम्फर्ट अब ८८ लाख रुपैयाँमा उपलब्ध।

काठमाडौं । नेपाली बजारमा म्याक्ससको लोकप्रिय इलेक्ट्रिक पिकअप ई टेरन-९ अब अझ किफायती मूल्यमा उपलब्ध भएको छ। म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालयन मोट्रक्स ले ई टेरन-९ को नयाँ कम्फर्ट भेरियन्ट सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो।

कम्पनीले नयाँ ई टेरन-९ कम्फर्टको प्रारम्भिक मूल्य ८८ लाख रुपैयाँ निर्धारण गरेको छ, जुन पहिलो ५० जना ग्राहकका लागि लागू हुनेछ। यो मूल्य हाल बिक्री भइरहेको ई टेरन-९ प्रिमियम भेरियन्टको तुलनामा करिब ४० लाख रुपैयाँ कम हो। प्रिमियम भेरियन्टको मूल्य हाल १ करोड २८ लाख रुपैयाँ रहेको छ।

मूल्य घटाउन कम्पनीले केही प्रिमियम सुविधाहरू हटाएको छ। कम्फर्ट भेरियन्टमा सनरुफ, मसाज सिट, एयर सस्पेन्सन, ३६० डिग्री क्यामेरा लगायतका फिचर समावेश गरिएको छैन। यद्यपि, गाडीको मुख्य प्रदर्शन क्षमता भने यथावत् राखिएको कम्पनीले जनाएको छ।

ई टेरन-९ कम्फर्टमा १०२.२ किलोवाट-आवर क्षमताको ब्याट्री प्याक प्रयोग गरिएको छ, जुन यस वर्गकै ठूलो ब्याट्रीमध्ये एक मानिन्छ। एनईडीसी मापदण्डअनुसार यसले एकपटक पूर्ण चार्जमा ५६० किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्छ।

फोर-ह्वील ड्राइभ प्रणालीसहित आउने यस पिकअपमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताका मोटर जडान गरिएको छ। दुवै मोटरको संयुक्त शक्ति ३२५ किलोवाट रहेको छ भने अधिकतम ७०० न्युटन मिटर टर्क उत्पादन गर्छ।

शक्तिशाली मोटरको कारण यो पिकअपले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ५.८ सेकेन्डमा हासिल गर्न सक्छ। यसको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको छ।

चार्जिङको हिसाबले पनि ई टेरन-९ कम्फर्ट निकै प्रभावशाली देखिन्छ। ११५ किलोवाट डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म मात्र ४२ मिनेटमा चार्ज गर्न सकिन्छ। साथै, यसमा भेहिकल-टु-लोड (V2L) सुविधा पनि उपलब्ध छ, जसले बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न मद्दत गर्छ।

आकारका हिसाबले ई टेरन-९ को लम्बाइ ५,५०० एमएम, चौडाइ १,९९७ एमएम र उचाइ १,८६० एमएम रहेको छ। ३,३०० एमएम ह्वीलबेस२५० एमएम ग्राउण्ड क्लियरेन्स भएको यो पिकअप नेपाली सडकका लागि उपयुक्त मानिन्छ।

लोड बोक्ने क्षमतामा पनि यो पिकअप बलियो छ। यसको पेलोड क्षमता १,०५० केजीटोइङ क्षमता ३,५०० केजी रहेको छ, जुन कम्पनीका अनुसार यस सेग्मेन्टमै उत्कृष्ट हो। कार्गो बक्सको आकार १,५६१ एमएम x १,५०० एमएम x ५३५ एमएम रहेको छ।

पाँच जना यात्रुका लागि डिजाइन गरिएको यसको क्याबिन आधुनिक र सुविधासम्पन्न छ। भित्र १२.३ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर१२.३ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ। साथै, एप्पल कारप्ले, एन्ड्रोइड अटो, अटोमेटिक एयर कन्डिसनिङ, इलेक्ट्रिक ड्राइभर सिट, माइक्रोफाइबर लेदर स्टेयरिङ, पछाडिका यात्रुका लागि एसी भेन्ट, यूएसबी तथा टाइप-सी चार्जिङ पोर्ट, कीलेस इन्ट्री, पुश स्टार्ट, अटो हेडलाइट र अटो वाइपर जस्ता सुविधा पनि समावेश छन्।

सुरक्षाको पक्षमा पनि ई टेरन-९ कम्फर्ट सशक्त छ। यसमा रिभर्सिङ क्यामेरा, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, क्रुज कन्ट्रोल, डुअल एयरब्याग, ईएसपी, ईबीए, अटो होल्ड र अल-टेरेन ड्राइभ मोड जस्ता फिचर उपलब्ध छन्। साथै, यसले युरो एनक्याप क्र्यास टेस्टमा ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ।

पिकअपको २९ डिग्री एप्रोच एंगल२५ डिग्री डिपार्चर एंगल ले अफरोड क्षमता अझ बलियो बनाएको छ। डबल विशबोन फ्रन्ट सस्पेन्सन र मल्टि-लिंक इन्डिपेन्डेन्ट रियर सस्पेन्सनका कारण विभिन्न सडक अवस्थाहरूमा पनि आरामदायी र स्थिर यात्रा अनुभव गर्न सकिन्छ।

उच्च ग्राउण्ड क्लियरेन्स, लामो रेन्ज, शक्तिशाली फोर-ह्वील ड्राइभ प्रणाली र उत्कृष्ट टोइङ क्षमताका कारण म्याक्सस ई टेरन-९ कम्फर्ट नेपालको हिमाली, पहाडी तथा दुर्गम क्षेत्रमा समेत सहज रूपमा सञ्चालन गर्न सकिने इलेक्ट्रिक पिकअपका रूपमा प्रस्तुत भएको छ।

Comment