Home latest hot news car bike नागढुंगा सुरुङमार्ग भोलिबाट सञ्चालनमा, चालकले जान्नुपर्ने ५ कुरा

नागढुंगा सुरुङमार्ग भोलिबाट सञ्चालनमा, चालकले जान्नुपर्ने ५ कुरा

Krispa Pyakurel
13 Views
Jul 26
नेपालकै पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला भोलिबाट सञ्चालनमा आउँदैछ।

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भोलि (सोमबार) देखि सञ्चालनमा आउने भएको छ। निर्माण सुरु भएको करिब ८१ महिनापछि यो बहुप्रतीक्षित आयोजना सञ्चालनको चरणमा पुगेको हो।

सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षले संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ।

आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुवाती चरणमा आपत्कालीन सेवाका सवारी साधनलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारी साधन सञ्चालनमा आएपछि क्रमशः अन्य निजी तथा सार्वजनिक सवारी साधनका लागि पनि मार्ग खुला गरिनेछ।

जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले २०७६ कात्तिक ४ गते निर्माण सुरु गरेको थियो। सुरुमा ४२ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले निर्माण अवधि लम्बिँदा आयोजना पूरा हुन झण्डै आठ वर्ष लागेको हो। करिब २१ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो सुरुङमार्ग २,६८८ मिटर लामो छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा–नौबिसे सडकखण्डको यात्रा समय छोटिने, ट्राफिक जाम कम हुने र इन्धन बचत हुने अपेक्षा गरिएको छ।

१. कुन सवारी साधनलाई प्रवेश अनुमति छ ?

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालन निर्देशिका, २०८१ अनुसार सबै प्रकारका सवारी साधनले सुरुङ प्रयोग गर्न पाउने छैनन्।

मोटरसाइकल, स्कुटर, ट्याम्पु, अटोरिक्सा, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर, विस्फोटक पदार्थ बोकेका सवारी, दुर्गन्धित वा कुहिएका वस्तु बोकेका सवारी तथा गैर-मोटरयुक्त सवारी साधनलाई सुरुङभित्र प्रवेश गर्न अनुमति छैन।

यस्तै, १८ मिटरभन्दा लामो, २.५ मिटरभन्दा चौडा र ४.२५ मिटरभन्दा अग्ला सवारी साधनलाई पनि सुरुङमार्ग प्रयोग गर्न दिइने छैन।

तर कार, जीप, भ्यान, माइक्रोबस, मिनिट्रक, ट्रक र बस लगायतका अधिकांश सवारी साधन भने सुरुङमार्गबाट आवतजावत गर्न सक्नेछन्।

२. सुरुङमार्ग प्रयोग गर्दा कति शुल्क लाग्छ ?

सरकारले सवारीको प्रकार अनुसार टोल शुल्क निर्धारण गरेको छ।

  • कार तथा भ्यान: काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ, बाहिरिँदा ६० रुपैयाँ

  • मिनिबस तथा मिनिट्रक: काठमाडौं आउँदा ११५ रुपैयाँ, बाहिरिँदा ८० रुपैयाँ

  • बस तथा ट्रक: काठमाडौं आउँदा २६० रुपैयाँ, बाहिरिँदा २०० रुपैयाँ

  • हेभी सवारी साधन: काठमाडौं आउँदा ६०० रुपैयाँ, बाहिरिँदा २५० रुपैयाँ

३. शुल्क कसरी तिर्ने ?

सुरुङमार्गमा डिजिटल भुक्तानी प्रणाली लागू गरिएको छ। यसका लागि रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (RFID) प्रविधिमा आधारित ‘एन-ट्याग’ स्टिकर प्रयोग गरिनेछ।

सवारीधनीले सम्बन्धित बैंकबाट एन-ट्याग लिनुपर्नेछ। हाल ग्लोबल आईएमई बैंक, कुमारी बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सानिमा बैंकबाट एन-ट्याग उपलब्ध छ।

स्टिकर सवारीको अगाडिको सिसामा टाँसिएपछि सुरुङ प्रवेश गर्दा प्रणालीले स्वचालित रूपमा पढेर शुल्क कट्टा गर्नेछ। प्रारम्भिक अवधिमा भने क्यूआर कोड र नगदमार्फत पनि भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।

४. सुरुङभित्र कति गतिमा सवारी चलाउन पाइन्छ ?

सुरुङमार्गभित्र सवारी साधनको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर तोकिएको छ।

निर्धारित गतिभन्दा बढी स्पीडमा सवारी चलाएमा कारबाही हुने व्यवस्था गरिएको छ। त्यसैले चालकहरूले सुरुङभित्र प्रवेश गरेपछि गति नियन्त्रणमा राख्नुपर्नेछ।

५. सुरुङमार्गको सञ्चालन र व्यवस्थापन कसले गर्छ ?

सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नेपाली–चिनियाँ संयुक्त लगानीको युसिन एआरटी कम्पनीले पाएको छ।

कम्पनीले पाँच वर्षका लागि करिब १ अर्ब १० करोड रुपैयाँको सम्झौतामा सुरुङमार्ग सञ्चालन, निगरानी, मर्मतसम्भार तथा जनशक्ति व्यवस्थापन गर्नेछ। सुरुङमार्गलाई चौबीसै घण्टा सञ्चालनमा राख्न करिब १५० जना कर्मचारी खटिनेछन्।

हाल नागढुंगा नाका हुँदै दैनिक औसत ८ हजारभन्दा बढी साना तथा ठूला सवारी साधन आवतजावत गर्ने गरेका छन्। तीमध्ये करिब ४ हजारदेखि ५ हजार सवारीले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ।

नेपालको पहिलो सडक सुरुङमार्ग सञ्चालनमा आउनु देशको पूर्वाधार विकासका लागि एउटा महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले काठमाडौं उपत्यकामा प्रवेश गर्ने यात्रुलाई सहज, सुरक्षित र छिटो यात्रा अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

Tags :

Comment